About Me

My photo
A commoner. M. Sc. Medical Microbiology, TU, Nepal; PhD Candidate, Biochemistry and Molecular Biology, Clemson University, SC, USA

Saturday, August 29, 2020

नेपालमा कोभिड-१९ सम्बन्धित मृत्युदर

नभ राज पौड्याल

सन् २०२० को सुरुका ८ महिना सकिनै लाग्दा नेपालमा नोवल कोरोनाभाइरसबाट संक्रमितको संख्या ३६ हजार बढि छ भने मृत्यु हुनेको संख्या झण्डै २०० पुगेको छ। एक समय घट्दै गरेको संक्रमण फेरि बढ्न थालेको छ। यस लेखमा कोभिड-१९ को मृत्युदरका बारेमा चर्चा गरिनेछ।


१. इन्फेक्सन फेटालिटी रेसियो (Infection fatality ratio , IFR %): रोगको गम्भीरता मापन गर्न IFR उपयोगी हुन्छ। समुदायमा सबै संक्रमितलाई रोगको लक्षण नदेखिने भएको कारण समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर जाँच्न IFR को प्रयोग गरिन्छ। यसको लागि समुदायबाटनमुना सङ्कलन गरेर रगतमा एण्टिबडी (भाइरस विरुद्ध लड्न शरीरले उत्पादन गर्ने अणु) जाँचिन्छ। यस्तो अनुसन्धानका लागि समय र स्रोत-साधनको अत्याधिक प्रयोग हुन्छ। IFR % मा मापन हुने कारण जम्मा मृत्यु संख्यालाई जम्मा संक्रमण संख्याले भाग गरेपछि १०० ले गुणा गरिन्छ।  

सामुदायमा संक्रमणको स्थिति थाहा नभएको अवस्थामा IFR  को मान निकाल्न सम्भव छैन। 


२. केस फेटालिटी रेसियो (Case fatality ratio, CFR %): CFR ले संक्रमण पत्ता लागेका व्यक्तिहरूमा मृत्युदर कस्तो छ भनेर मापन गर्ने भएकाले यसले पत्ता लागेको संक्रमणको गम्भीरतालाई जनाउँछ। CFR पनि % मा मापन हुने हुँदा हिसाब गर्न जम्मा मृत्यु संख्यालाई पत्ता लागेको जम्मा संक्रमण संख्याले ले भाग गरेपछि १०० ले गुणा गर्नुपर्ने हुन्छ।


CFR ले दुइटा प्रारम्भिक धारणा बनाएको हुन्छ: पहिलो- संक्रमण र मृत्यु महामारीको अवधिभर उस्तै हुन्छ ,र दोस्रो- पत्ता लागेको हरेक संक्रमणको नतिजा प्राप्त भैसकेको छ। तसर्थ CFR महामारीको अन्त्यपछि मृत्यदर पत्ता लगाउन उपयोगी हुन्छ। 




महामारीकैबिच CFR हिसाब गर्न सुत्रमा केहि परिमार्जनगर्नुपर्ने हुन्छ। कुनै संक्रमण छिट्टै नतिजामा पुग्छ भने कुनैलाई बढि समय लाग्छ। यस्तो अवस्थामा CFR को मान निकाल्न जम्मा मृत्युलाई नतिजा प्राप्त भएको संक्रमण संख्या (रोगमुक्त भएको संख्या र  मृत्यु भएको संख्याको योग) ले भाग गरेर १०० ले गुणा गरिन्छ।   

(अंग्रेजीमा लेखिएका सबै सूत्रहरू विश्व स्वास्थ्य संगठनबाट साभार गरिएका हुन्। )

यसरी हिसाब गरिएको मृत्युदरमा पनि केहि समस्या छ। यसले ढिलो गरी पत्ता लागेको संक्रमणलाई सम्बोधन गर्दैन। रोग लागेर विरामी भएका व्यक्तिको नतिजा आउन अलि ढिलो वा अलि छिटो हुँदा यसले दिने आँकडा वास्तविकता भन्दा फरक पर्न सक्छ। 


अब नेपालमा कोभिड-१९ को मृत्युदरका बारेमा केहि चर्चा गरौँ। 


चित्र क: यस चित्रमा जुन ३० (असार १६) भन्दा पछिका ८ हफ्ताका जम्मा संक्रमित संख्या र मृतक संख्या देखाइएको छ। यस चित्रको देब्रेतर्फको स्केलले जम्मा संक्रमित संख्या देखाउँछ भने दाहिनेतर्फको स्केलले मृतकको संख्या देखाउँछ। 

कालो रेखा र कालो स्केलले संक्रमित संख्या जनाउँछ भने रातो रेखा र रातो स्केलले जम्मा मृतक संख्या जनाउँछ। 

चित्रमा देख्न सकिन्छ, महामारीको सुरुको ६ महिनामा भन्दा पछिल्लो दुइ महिनामा संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। जुन ३० गते (असार १६) देखि अगस्ट २८ गते सम्मको आँकडालाई हेर्ने हो भने संक्रमितको संख्या १३५६४ बाट झण्डै ३ गुणाले बढेर ३५४५६ पुगेको छ भने मृतकको संख्या २९ बाट ६ गुणाभन्दा धेरै बढेर १९५ पुगेको छ।



चित्र ख: यस चित्रमा जम्मा संक्रमित संख्या (कालो रेखा), रोगमुक्त संख्या (हरियो रेखा), र मृत्यु संख्या (रातो रेखा) देखाइएको छ। संक्रमित संख्यार रोगमुक्त संख्याका लागि वायाँतर्फ स्केल देखाइएको छ भने मृतक संख्याको लागि दायाँतर्फ स्केल देखाइएको छ। चित्रमा  स्पष्ट देखिन्छ जुलाईको अन्त्यतिर संक्रमित र रोगमुक्त हुनेको संख्याबिचको भिन्नता कम हुँदै थियो भने अगस्तको सुरु (साउन २० गतेको वरिपरि) देखि यी दुई रेखाको बिचमा दूरी बढ्दै गइरहेको छ। सँगसँगै मृत्यु हुनेको संख्या पनि आकासिँदै गएको छ। यो चित्र बाट यति भन्न सकिन्छ कि संक्रमित हुने र रोगमुक्त हुनेको संख्याबिच भिन्नता  बढ्दै गर्दा मृतकको संख्या बढ्ने रहेछ। फेरि संक्रमितको संख्या जसरी बढ्दैछ, सँगसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। 



चित्र ग: यस चित्रमा मृत्यु दर (केस फेटालिटी रेसियो, CFR %) बैजनी र मृतकको संख्या रातोमा देखाइएको छ।  जुन ३० मा (असार १६ मा) 0. २१% भएको मृत्यु दर अगस्ट २८ (भदौ १२)सम्म आइपुग्दा ०.५३% पुगेको छ। चित्रमा देख्न सक्छौँ मृत्यु संख्यासँगै मृत्यु दर पनि बढ्दै गइरहेको छ। 



चित्र घ: माथी उल्लेख गरिए जस्तै महामारीकै बिचमा रहेको अवस्थामा केस फेटालिटी रेसियो, CFR % लाई परिमार्जन गर्नु पर्छ। यस चित्रमा CFR% (बैजनी) र परिमार्जित CFR % (खैरो) देख्न सकिन्छ। जुन महिनाको अन्त्य (असार १६) देखि घटेको परिमार्जित CFR % संक्रमण संख्या अगस्तको पहिलो हफ्ता (साउनको २० आसपास) बाट बढेर अगस्ट २८ (भाद्र १२) मा झण्डै १% पुग्न लागेको छ। यहि अवस्था कायम रह्यो भने हरेक सय संक्रमित व्यक्तिको नतिजा आउँदा एक जनाले ज्यान गुमाउनु पर्नेछ।


एक मृत्यु नै व्यक्ति, परिवार, समाज, र राज्यको लागि ठूलो क्षति हो भने यहाँ हामी एक प्रतिशत मृत्युको कुरा गरिरहेका छौँ, जुन अत्यन्तै भयावह स्थिति हो। अहिलेको स्थितिलाई नियालेर हेर्दा मृत्युदर छिट्टै घट्ने अवस्था देखिँदैन।



References

1.

2. 
3.




Nava Raj Poudyal 
PhD Candidate
Biochemistry and Molecular Biology 
Clemson University, USA

#कोरोना     #कोरोना मृत्युदर     # कोभिड-१९ मृत्युदर

Wednesday, July 8, 2020

नेपालमा रहेका नोवेल कोरोनाभाइरस सम्बन्धि भ्रम र वास्तविकता


नभ राज पौड्याल 

नेपालका प्रधानमन्त्रीले सदनमा कोरोनाभाइरसको सन्दर्भमा अदुवा,लसुन, र बेसारका (लेखमा यस पछि यी तिनलाई छोटकरीमा अ-ल-बे भनिने छ) बारेमा बोलेको विषयले सामाजिक सञ्जालमा खुब महत्त्व पाएको छ। अ-ल-बेको औषधीय गुण, नेपालीकाे उच्च रोग प्रतिराेधात्मक क्षमता, र रुघा जस्तै हाच्छ्युँ गरेर कोभिड-१९ निको पारौँ भन्ने उक्त भनाईको विरोध र समर्थनका स्वरहरूमा अतिरञ्जनाको मात्रा बढि छ। रुघा र कोभिड-१९मा के भिन्नता छ, मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउनु भनेको के हो, र अ-ल-बे को कोरोनाभाइरससँगको अन्तरक्रिया बारे नविन खोज अनुसन्धानले कस्ता तथ्य उजागर गरेका छन् भन्ने विषयमा यो आलेख केन्द्रित रहनेछ। 

नेपाल सहित पुरै विश्व यतिखेर कोरोनाभाइरस महामारीको प्रताडनामा छ। मानवीय विपत्तिको यो समयमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन। सरकारको क्रियाकलापले महामारीलाई व्यवस्थित गर्न नसकेको नभई बुझ्न नचाहेको र नियन्त्रणका लागि प्रयत्न नगरेको देखिन्छ। विना कुनै आधार कोभिड-१९ लाई रुघासँग तुलना गर्नु, अ-ल-बे बारे भ्रामक कुरा फैलाउनु, संक्रमण पहिचानमा भाइरस “अहिले” शरीरमा “छ कि छैन” भनेर  पत्ता लगाउने विधी पीसीआरको सट्टा भाइरसले “पहिले” संक्रमण गरेको “थियो कि थिएन” पत्ता लगाउने विधी आरडीटी प्रयोगमा जोड दिनु आदि यसका प्रमाण हुन्।

राज्यले महामारी नियन्त्रणमा लिएका केहि कदम गलत भएको भन्दै १००% पीसीआर गर्नुपर्ने,  क्वारेण्टिन व्यवस्थित गर्नुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षा र सुविधा लगायतका माग राखेर अनसनरत सत्याग्रही युवाहरू र सरकार बीच आज १२ बुँदे सहमती भएको छ। पुराना नजिरलाई तोड्दै यो सहमती छिट्टै नै कार्यक्रमिक रुपमा लागु हुन्छ भन्ने आशा गर्दै आ-आफ्नो स्थानबाट पहल पनि गरिरहनु आवश्यक छ। 

यो आलेख जनमानसको परम्परागत उपचार र  भान्सामा शदियौंदेखि प्रयोग हुँदै आएका अ-ल-बे लगायत अन्य  जडीबुटीहरुको ‍औषधीय गुणको खण्डन गर्नको लागि लेखिएको होइन। बरु अ-ल-बेको कोरोनाभाइरस विरुद्धका औषधीय गुणका सम्बन्धमा कस्ता अध्ययन भएका छन् भन्ने बारेमा हो। तर, यी सामाग्रीलाई कोरोनाभाइरसको अचुक औषधी जस्तो गरी नेपाली मानसिकतामा स्थापित गर्ने प्रयत्नको भने विरोधी हो। सामान्य अवस्थामा त कैयौँ नेपाली परिवारले यी वस्तुको दैनिक उपभोग गर्ने हैसियत राख्दैनन् भने महामारीको अवस्थामा आर्थिक र उपलब्धताका हिसाबले यी वस्तुसम्म कति नेपालीको पहुँच होला,  त्यसको भने बेग्लै अध्ययन आवश्यक छ। भोकभोकै र राज्यकै रेखदेखमै पनि महामारीको समयमा कैयौँ जीवन अन्त्य भएको तथ्य आँखै अगाडि रहँदा, राज्यको कार्यकारी प्रमुखको बोली जनताको मृत्युमाथि भद्दा मजाक बनेको हो कि भन्ने चिन्ता चाहिँ हो। 

विज्ञान क्रमिक रुपले विकास भइरहने विषय भएकोले महामारीको सुरुवाततिर भन्दा अहिले कोरोनाभाइरस सम्बन्धी कतिपय धारणा परिवर्तन हुँदै गएका छन्। विज्ञानमा विश्वास गर्नेहरूले उपलब्ध तथ्यलाई आत्मसात गर्दै आफूलाई अद्यावधिक गराइरहनु पर्छ। उदाहरणको लागि, एक समय बीसीजी खोप लगाउने देशहरूमा कम संक्रमण देखिएको ठानेर केहि वैज्ञानिकले बीसीजी खोप र नोवेल कोरोनाभाइरस संक्रमणको बिच केहि सम्बन्ध छ कि भन्ने परिकल्पना गरेका थिए। नेपालभित्रै हजारौँ व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कम्तिमा हाम्रो देशमा यो परिकल्पना कमजोर भएको छ । वैज्ञानिकहरू अवलोकनबाट प्राप्त आँकडालाई विश्लेषण गरेर नतिजामा पुग्ने भएका कारण आफ्नो परिकल्पना गलत हुँदा पनि आफूलाई सत्यको नजिक पाउँछन्। तर अवैज्ञानिकहरू आफ्नो परिकल्पना गलत हुनै सक्दैन भन्ने ठान्छन् अनि जड भएर आफ्नो तर्कमा टाँसिरहन मन पराउँछन्। 

सामाजिक सञ्जालमा अ-ल-बे र कोरोनाभाइरसको सम्बन्धमा यति धेरै बहस चल्दा पनि यस विषयमा राज्यका स्वास्थ्य सम्बद्ध निकायहरूले बोल्न नसक्नु खेदजनक छ। पेशागत संघ-संस्थाहरूले जनताको मनमा अन्यौल सिर्जना गर्ने यस्ता विषयहरूमा सत्य र तथ्यपरक कुरा बोलेर आफ्नो पेशागत धर्म निभाउनुपर्छ। 

के कोभिड-१९ र रुघा उस्तै हो?
कोरोनाभाइरसले लगाउने कोभिड-१९ र रुघा उस्तै होइनन्। यी दुवैले स्वासप्रस्वास प्रणालीमा असर गर्ने र दुवैमा देखिने केहि लक्षण समान भए पनि यी फरक रोगहरू हुन्। रुघाको प्रमुख कारक राइनो भाइरस हो। राइनो भाइरस र कोरोनाभाइरसको बनावट, संरचना र तिनमा निहित विशेषता त फरक छन् नै, तिनका एक मानिसबाट अर्को मानिसमा सर्ने अनि संक्रमण गर्ने क्षमता, रोगका प्रकृती, र मृत्युदर पनि फरक छन्। विश्वमा कोरोनाभाइरसको फैलावटलाई घटाउन यति धेरै प्रयास गर्दा पनि पहिलो ६ महिनामा एक करोड २१ लाख भन्दा बढि संक्रमितको पहिचान भैसकेको छ भने ५ लाख ५० हजार भन्दा बढिको मृत्यु भएको छ। अहिलेसम्म कोभिड-१९ का कारण विश्वमा प्रति दश लाख जनसंख्या करिब ७० जना भन्दा बढिको मृत्यु भइसकेको छ। 
पछिल्ला केहि दिनमा नेपाल लगायत विश्वका धेरै देशहरूमा संक्रमितको संख्या बढि रहेको छ। तसर्थ, यी दुई रोगलाई एकै तुलोमा राख्नु, र एकै तरिकाले समाधान गर्न सकिन्छ भनेर सोच्नु मुर्खता हो। यो फरक नबुझेको कारण नै मानिसहरू उट्पट्याङ्ग कुरा गरेर मिडियामा छाइरहेका छन्, जसको परिणाम घातक हुन सक्छ।

के नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढि छ?

नेपालीको रोग प्रतिरोधी क्षमता कति छ भनेर कुनै अध्ययनले भनेको थाहा छैन। झन् भर्खर ६/७ महिना अघि देखिएको कोभिड-१९ गराउने नोवेलकोरोनाभाइरस - जुन भाइरससँग नेपालीहरूको यस अघि कहिल्यै संसर्ग भएकै थिएन - विरुद्ध लड्ने क्षमता नेपालीमा कति छ भन्ने अनुसन्धान त झन् हुने कुरै भएन। सुरुमा नेपालभित्र संक्रमण पहिचान गर्ने विधीको यथेष्ट प्रयोग नगरिएको र विदेशबाट नेपाली जनतालाई देश छिर्न नदिइएको अवस्थामा नेपालमा कम संक्रमण देखिएको थियो। त्यस समय धेरै मान्छेका दिमागमा आएका सोचाईहरू, गफगाफमा प्रयोग गरिएका कपोलकल्पित कुराहरूले नीति-निर्माण र कार्यान्वयन गर्ने व्यक्तिको दिमागमा घर बनाएर बस्नु हानिकारक छ। 

वैज्ञानिक दृष्टिकोणमा रोग प्रतिरोधी क्षमता बढाउने अथवा बढि हुने कुराको ठेट अर्थ छैन। मानव शरीरका रोग प्रतिरोधात्मक प्रणालीमा धेरै थरीका कोशिकाहरू हुन्छन्। ती कोशिकाहरू जटिल आणविक सङ्केतबाट निर्देशित हुन्छन्। प्रतिरोधात्मक प्रणालीका केहि कोशिकाहरूले भाइरस संक्रमणको पहिचान गरेर सूचनाका रुपमा उत्पादन गर्ने साइटोकाइन नामक रसायनले प्रतिरोधात्मक प्रणालीका अन्य कोशिकाहरूलाई क्रियात्मक बनाउँछन् र संक्रमणको क्षेत्रमा बोलाउँछन्। रोचक तर खतरनाक कुरा के छ भने कोरोनाभाइरस संक्रमित केहि विरामीमा यो प्रक्रिया अत्यन्त विस्तारित भई नरोकिने गरी अघि बढ्छ। यसले विरामीलाई रोगबाट निको पार्नुको सट्टा विरामीको मृत्यु गराउँछ। अर्को तर्फ, अटोइम्युन रोग (autoimmune disease) भएका मानिसमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै शरीरका विरुद्ध आक्रमण गरेर नकारात्मक प्रभाव देखाउँछ। त्यसैले, अ-ल-बे खाएर रोग प्रतिरोधात्मक शक्ति बढाउनु भन्ने तर्कको वैज्ञानिक आधार छैन। 

त्यस माथि, कोभिड-१९ को लक्षण व्यक्ति-व्यक्तिमा फरक देखिएका छन्। कसैलाई कुनै लक्षण देखिँदैन, कसैलाई साधारण लक्षण देखिन्छ भने कसैलाई अस्पताल भर्ना गर्नुपर्ने, भेण्टिलेटरमा राखेर अक्सिजन दिएर २४ सै घण्टा निगरानी गर्नुपर्ने हुन्छ । प्राय: युवालाई कम असर गरेको देखिन्छ। पहिल्यै जटिल समस्या जस्तै मधुमेह, दम, उच्च रक्तचाप, मोटोपना, मुटु, मृगौला, र श्वासप्रश्वासका रोगीलाई कोभिड-१९ को जोखिम उच्च हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालको ४% जनसंख्या मधुमेहबाट पीडित छ। त्यसै गरी, नेपालमा करिब ३०% मृत्यु हृदय र रक्तसञ्चार प्रणालीसँग सम्बन्धित रोगले हुने गर्दछ भने २५% वयश्कलाई उच्च रक्तचापको समस्या छ। त्यसै गरी, नेपालमा करिब १०% जनसंख्या दमका रोगी छन्। करिब ५% जनता मोटोपनाको समस्याबाट पीडित छन्। सन् २०१७ मा ४ हजार भन्दा बढि मानिसको मृगौला रोगको कारण मृत्यु भएको तथ्याङ्क छ। यी सबै मानिस उच्च जोखिममा छन्। त्यसै गरी अङ्ग प्रत्यारोपण गरेका मानिसहरू जसले ती अङ्ग विरुद्ध आफ्नै शरीरले प्रतिक्रिया नगरून् भनेर शरीरको प्रतिरोधात्मक शक्ति घटाउन औषधी खानुपर्छ, ती व्यक्ति त झन् संक्रमणको उच्च जोखिममा हुन्छन्। प्रधानमन्त्री ओलीले पनि भर्खरै दोश्रो पटक मृगौला प्रत्यारोपण  गराएका छन्। उनी आफैँ उच्च जोखिम वर्गमा पर्छन्। 

कोभिड-१९ महामारीको सुरुको अवस्थामा लकडाउन हुँदा  कैयौँ नेपालीलाई विनाकारण घर बस्नु परेको जस्तो लागेको थियो। केहि समय संक्रमितको संख्या नबढेको देखेपछि धेरैमा कोरोनाले नेपालीलाई छुँदैन कि भन्ने भ्रम परेको थियो। मानिसहरू पनि नेपालीहरूमा संक्रमण किन देखिँदैन भन्ने बारेमा अनेक “हाइपोथेसिस” बुन्न थालिसकेका थिए। तर जब महामारी घर-आँगनमा आइपुग्यो, ती सबै हाइपोथेसिस अस्विकृत भए। त्यहि आरामको बेलाको हाइपोथेसिस अझै पनि बालुवाटार र सिंहदरबारतिर कुदिरहेको छ। 

कोभिड-१९ बाट जोगिने तरिका के-के हुन सक्छन्?

कोभिड-१९ रोगबाट जोगिने दुई वटा तरिका मुख्य हुन सक्छन्: खोप र औषधी तर अहिले दुवै उपलब्ध छैनन्। 

खोप लगाउनु भनेको रोगको कारक तत्त्वलाई, रोग लगाउन नसक्ने गरी त्यसको पुरै वा केहि अंश मानिसको शरीरमा प्रवेश गराएर मानव शरीरमा तिनीहरू विरुद्ध प्रतिरोधात्मक शक्ति निर्माण गराउने प्रक्रिया हो। जसकारण यदि वास्तविक विषाणु/किटाणु शरीरमा प्रवेश ग~यो भने, प्रतिरोधात्मक प्रणालीले तिनको पहिचान गरी छिट्टै शरीरबाट हटाउँछ र रोग लाग्न पाउँदैन। तर खोप उपलब्ध नहुँदा सम्मका लागि भाइरस विरुद्ध प्रयोग गर्न सकिने औषधिको विकास/पहिचानमा पनि वैज्ञानिकहरू लागि परेका छन्। 

कोरोनाभाइरस विरुद्ध आशा गरिएको औषधी रेम्डेसिभिरले फरक फरक देशका झन्डै ११ सय विरामीमा गरिएको प्रारम्भिक अनुसन्धानबाट विरामी निको हुने दिन औसत १५ बाट ११ मा घटेको देखिएको थियो, तर यसले विरामीको मृत्युदर भने घटाएको देखिएन। तर भर्खरै मात्र संयुक्त राज्य अमेरिकाले विश्वमा आपूर्ती हुने लगभग सबै रेम्डेसिभिर खरिद गरेको समाचार आएको छ, त्यसले विश्वमा कोरोनाभाइरस उपचारमा कस्तो प्रभाव पर्छ भनेर थाहा पाउन बाँकी छ। त्यस्तै, गएको हफ्ता मात्रै अक्सफोर्ड विश्वविद्यालयले ठूलो संख्याका विरामीमा गरिएको अनुसन्धानले अर्को औषधी डेक्सामेथासोनले भेण्टिलेटरमा रहेका र पूरक अक्सिजन आवश्यक भएका विरामीको मृत्युदर क्रमश: ३५% र २०% घटेको प्रारम्भिक नतिजा प्रकाशित गरेको छ। यी नतिजाले  महामारीको यो समयमा थोरै भए पनि आशा जगाउने काम गरेका छन्। 

नोवेल कोरोनाभाइरस विरुद्ध नयाँ यौगिक (compounds) हरूको औषधीय गुण परिक्षण गर्ने भन्दा पनि अहिले बजारमा भएकै औषधीले कोरोनाभाइरस विरुद्ध काम गर्छ कि भनेर प्राय: अनुसन्धान केन्द्रित भैरहेका छन्। यसलाई “रिपर्पोज अफ ड्रग” भनिन्छ। कुनै नयाँ अणुको प्रयोगशालामा सफल परिक्षण भए पनि मानव शरीरमा त्यसको असर बुझ्न लामो समयको अनुसन्धान गर्नुपर्ने हुन्छ। तर बजारमा अहिले उपलब्ध औषधीहरूको मानव शरिरभित्र हुने अन्तरक्रियाका बारेमा अध्ययन भइसकेकाले “ड्रग रिपर्पोज” गर्दा त्यसले मानव शरीरमाथि गर्ने नकारात्मक असर अध्ययन गर्न लाग्ने समय घटाउँछ। 

यी दुई बाहेक कन्भालेसेन्ट प्लाज्मा थेरापीको पनि चर्चा सुनिन्छ। यस विधिमा पहिल्यै कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेको मानिसको रगतमा भएको कोरोनाभाइरस विरुद्ध लड्न सक्ने एन्टिबडीको प्रयोग गरेर नयाँ संक्रमितको उपचार गरिन्छ। यसको बारेमा पनि थुप्रै अनुसन्धानहरू भइरहेका छन्।  

के अ-ल-बेमा भाइरसविरुद्ध सक्रिय गुण छ?

अ-ल-बेको औषधीय गुणका बारेमा धेरै अनुसन्धान भएका छन्। यी खाद्य सामाग्रीमा भाइरस संक्रमण विरुद्ध सक्रिय रहने यौगिकहरू पाइन्छन्, तर कुनै पनि अध्ययनले तिनलाई कोभिड-१९ निको पार्न सक्छन् भनेर प्रमाणित गरेका छैनन्। प्राय: अनुसन्धानमा अ-ल-बेको तेल (essential  oil) प्रयोग गरिन्छन्। सामान्यतया, एक किलोग्राम लसुनबाट लगभग २ ग्राम लसुनको तेल निस्कन्छ जसमा भाइरससँग अन्तरक्रिया गर्ने तत्त्वहरूको मात्रा लसुनको पोटिमा भन्दा झन्डै ५०० गुणा बढि हुन्छ। 

अदुवामा पाइने प्रमुख तत्त्व जिञ्जेरोन नामक यौगीकमा एन्टि-अक्सिडेण्ट गुण हुन्छ। हर्पिस सिम्प्लेक्स, रेस्पिरेटरी सिन्सिसल लगायतका भाइरसविरुद्ध जिञ्जेरोनको सक्रियता अध्ययन गरिएको छ । लसुनमा पनि अल्लिसिन, डाइएल्लाइल डाइसल्फाइड, र डाइएल्लाइल ट्राइसल्फाइड जस्ता भाइरसका विरुद्ध सक्रिय यौगिक पाइन्छन्, जसको साइटोमेगालो, राइनो, एचआइभी, रोटा लगायत केहि भाइरस विरुद्ध काम गर्न सक्ने क्षमता पत्ता लागेको छ। त्यसै गरी, बेसारमा पाइने कर्क्युमिन नामक यौगिकमा हेपटाइटिस सी, इबोला लगायतका भाइरस विरुद्ध सक्रियता पत्ता लागेको छ। तर यति हुँदाहुँदै पनि यी मध्ये अधिकतम अनुसन्धानहरू प्रयोगशालामा मानव शारीर बाहिर गरिएका हुनाले मानव शरीरमा संक्रमणको बखत तिनले प्रयोगशालामा देखिएको जस्तै व्यवहार नदेखाउन सक्छन्। त्यस माथि प्राकृतिक स्रोतबाट आउने कतिपय यौगिकको जैविक उपलब्धता (bioavailability)  पनि कम हुन्छ। जैविक उपलब्धता भनेको हामीले खाएको औषधीजन्य पदार्थहरू हामीले खाएपछि सोसिएर कति प्रतिशत चाहिँ रक्तसञ्चार प्रणालीसम्म पुग्छ भनेको हो। रगतसम्म पुग्ने अणुहरू मात्रै शारीरका अन्य अङ्गसम्म पुग्न सक्छन्। कतिपय स्थितिमा कृत्रिम रुपमा रासायनिक प्रतिक्रिया गराएर त्यस्ता पदार्थहरूको जैविक उपलब्धता बढाउनुपर्ने हुन्छ। 

अ-ल-बेको  नोवेल कोरोनाभाइरससँग सम्बन्धित कस्ता अध्ययन भएका छन् त?

महामारीको समयमा कैयौँ नोवेल कोरोनाभाइरससँग सम्बन्धित प्रकाशित वा प्रकान्शोन्मुख लेखहरूमा मोलिकुलर डकिङ्ग टेक्निकको प्रयोग गरिएको छ। मोलिकुलर डकिङ्ग प्रविधी कम्प्युटर सफ्टवेयर प्रयोग गरेर प्रोटिन जस्ता ठूला अणुका सक्रिय भागमा साना-साना अणुहरू जोडिन/बाँधिन सक्ने सम्भाव्यता अध्ययन गर्ने विधी हो। मानव र भाइरसका एक अर्कासँग अन्तरक्रियामा संलग्न अणुहरूको सक्रियता उन्मुलन गरिदिने हो भने संक्रमण घटाउन सकिन्छ। यसलाई सजिलोसँग बुझ्न ताला र चाबीको उदाहरण हेरौँ। तालाभित्र साना-साना ढुङ्गा अथवा सिन्का पस्यो भने त्यो स्थानमा चाबी छिराउन नसकेर जसरी ताला खुल्दैन, त्यसै गरी साना-साना अणुहरूले पनि भाइरस र मानब कोशिका बीच हुने अन्तरक्रियालाई निषेध गर्दा भाइरसले हाम्रो शारीरमा संक्रमण गर्न असमर्थ हुन्छ। यसमा बिर्सन नहुने कुरा यो हो कि, वास्तविक भाइरस मानव शरीरमा हुँदा त्यस्ता अन्तरक्रिया कस्तो हुन्छ भनेर चाहिँ अध्ययन गरिएको छैन। 

लसुनको कोरोनाभाइरस विरुद्धको सक्रियताको विषयमा २०२० मार्चमा अमेरिकन केमिकल सोसाइटि नामको जर्नलमा मोलिकुलर डकिङ्ग टेक्निकको प्रयोग गरेर भिएतनामका वैज्ञानिकहरूले अनुसन्धानमूलक लेख प्रकाशित गरेका छन्। उक्त अध्ययनले लसुनमा पाइने  १७ यौगिकहरूमा नोवेल कोरोनाभाइरस संक्रमण रोक्न सक्ने सक्रियता रहेको देखाएको छ। फेरि पनि लसुनमा भएका ती अणुले मानव शरीरमा भाइरसको संक्रमण विरुद्ध कस्तो भूमिका खेल्छन्, त्यो अध्ययन नगरी भन्न सकिँदैन। त्यसको लागि लामो समयको अनुसन्धान गर्नुपर्ने हुन्छ। 

त्यसै गरी, मोलिकुलर डकिङ्ग टेक्निककै प्रयोग गरी अदुवा, बेसार, र अन्य वनस्पतीमा पाइने यौगिकहरूले कोरोनाभाइरसका प्रोटिनसँग गर्न सक्ने सम्भाव्य अन्तरक्रिया सम्बन्धित दुई वटा अनुसन्धानमूलक लेखहरू सहकर्मी समीक्षा (peer review) को पर्खाईमा बसेका छन। कोरोनाभाइरससँग सम्बन्धित लेखहरू प्रकाशित हुनुपूर्व नै अनलाइन राखिने अहिलेको चलन भए पनि सहकर्मी समीक्षाबाट पास नभई तिनको आधिकारिकता पुष्टि हुन्न, तसर्थ ती लेखका नतिजाका विषयमा यहाँ केहि लेख्नु आवश्यक देखिँदैन।

अहिलेसम्म कोभिड-१९ को औषधी यहि हो भनेर भन्न नसकिने अवस्थामा बच्नका लागि सन्तुलिन आहार नै उत्तम उपाय हो भन्ने निष्कर्ष जुलाई-अगस्ट २०२० मा प्रकाशित हुने, तर अनलाइनमा उपलब्ध भइसकेको रनिल जयबर्दनेको टोलीले १३२ वटा वैज्ञानिक लेखहरूमा गरेको मेटा-विश्लेषण (meta-analysis) ले निकालेको छ। कुपोषणको उपचार, मोटोपनबाट मुक्ति, भिटामिन र खनिज लगायत अन्य पोषक तत्वको उपलब्धता आदिले मानिसलाई स्वस्थ रहन मद्दत गर्दछ। त्यसका लागि शरीरमा आवश्यक सबै प्रकारका पोषक तत्त्व प्राप्त गर्न तरकारी र फलफूल प्रशस्त खाने गर्नुपर्दछ। अ-ल-बे पनि यी न्युट्रासिउटिकल्स  (nutraceuticals) - औषधीय गुण भएका स्वास्थ्यवर्धक खानेकुरा - भित्रै पर्दछन्। 

अन्त्यमा अ-ल-बेको बारेमा जति बोले/लेखे पनि महामारीको यो कठिन समयमा भोकभोकै र सरकारको रेखदेखमै पनि मान्छे मरिरहनु परेको हाम्रो देशमा कति नेपालीले यी खानेकुराहरू खाने हैसियत राख्लान्? जनतालाई स्वास्थ्यवर्द्धक खाना खाऊ भन्दै गर्दा, ती खानेकुरा जनताको भान्सामा उपलब्ध गराउने जिम्मा सरकारको हो। नेपालीलाई त्यस्तो सरकारको आवश्यकता छ। त्यस्तै, हामीले परम्परागत रुपमा प्रयोग गर्दै आएका प्रविधीको वैज्ञानिकीकरण र विकासमा सरकारले पहलकदमी लिनु पर्छ। 

विगतमा भएका गल्तीबाट सिक्दै सहि कदम उठाउन सक्ने नेतृत्वको यो देशमा खाँचो छ। 


सन्दर्भ सामाग्रीहरू: 
  1. Bayan, L., Koulivand, P. H., & Gorji, A. (2014). Garlic: a review of potential therapeutic effects. Avicenna journal of phytomedicine, 4(1), 1.
  2. Benzie, I. F., & Wachtel-Galor, S. (Eds.). (2011). Herbal medicine: biomolecular and clinical aspects. CRC press.
  3. Curtis, N., Sparrow, A., Ghebreyesus, T. A., & Netea, M. G. (2020). Considering BCG vaccination to reduce the impact of COVID-19. The Lancet, 395(10236), 1545-1546.
  4. Donma, M. M., & Donma, O. (2020). The Effects of Allium Sativum on Immunity within the Scope of COVID-19 Infection. Medical Hypotheses, 109934.
  5.  Goswami, D., Kumar, M., Ghosh, S. K., & Das, A. (2020). Natural Product Compounds in Alpinia officinarum and Ginger are Potent SARS-CoV-2 Papain-like Protease Inhibitors. (Not peer reviewed yet)
  6. Khaerunnisa, S., Kurniawan, H., Awaluddin, R., Suhartati, S., & Soetjipto, S. (2020). Potential inhibitor of COVID-19 main protease (Mpro) from several medicinal plant compounds by molecular docking study. Prepr. doi10, 20944, 1-14. (Not peer reviewed yet)
  7. Jayawardena, R., Sooriyaarachchi, P., Chourdakis, M., Jeewandara, C., & Ranasinghe, P. (2020). Enhancing immunity in viral infections, with special emphasis on COVID-19: A review. Diabetes & Metabolic Syndrome: Clinical Research & Reviews.
  8. Treweek, S., Forouhi, N. G., Narayan, K. V., & Khunti, K. (2020). COVID-19 and ethnicity: who will research results apply to?. The Lancet, 395(10242), 1955-1957.
  9. Jagtap, D., Mahale, S., & Patel, V. (2020). Modelling and docking of Indian SARS-CoV-2 spike protein 1 with ACE2: implications for co-morbidity and therapeutic intervention. arXiv preprint arXiv:2004.06361. (Not peer reviewed yet)


Nava Raj Poudyal 
PhD Candidate
Biochemistry and Molecular Biology 
Clemson University, USA 

#नोवेल #कोरोनाभाइरस #अदुवा #लसुन  #बेसार 

नेपालमा कोभिड-१९ सम्बन्धित मृत्युदर

नभ राज पौड्याल सन् २०२० को सुरुका ८ महिना सकिनै लाग्दा नेपालमा नोवल कोरोनाभाइरसबाट संक्रमितको संख्या ३६ हजार बढि छ भने मृत्यु हुनेको संख्या ...