About Me

My photo
A commoner. M. Sc. Medical Microbiology, TU, Nepal; PhD Candidate, Biochemistry and Molecular Biology, Clemson University, SC, USA

Saturday, August 29, 2020

नेपालमा कोभिड-१९ सम्बन्धित मृत्युदर

नभ राज पौड्याल

सन् २०२० को सुरुका ८ महिना सकिनै लाग्दा नेपालमा नोवल कोरोनाभाइरसबाट संक्रमितको संख्या ३६ हजार बढि छ भने मृत्यु हुनेको संख्या झण्डै २०० पुगेको छ। एक समय घट्दै गरेको संक्रमण फेरि बढ्न थालेको छ। यस लेखमा कोभिड-१९ को मृत्युदरका बारेमा चर्चा गरिनेछ।


१. इन्फेक्सन फेटालिटी रेसियो (Infection fatality ratio , IFR %): रोगको गम्भीरता मापन गर्न IFR उपयोगी हुन्छ। समुदायमा सबै संक्रमितलाई रोगको लक्षण नदेखिने भएको कारण समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर जाँच्न IFR को प्रयोग गरिन्छ। यसको लागि समुदायबाटनमुना सङ्कलन गरेर रगतमा एण्टिबडी (भाइरस विरुद्ध लड्न शरीरले उत्पादन गर्ने अणु) जाँचिन्छ। यस्तो अनुसन्धानका लागि समय र स्रोत-साधनको अत्याधिक प्रयोग हुन्छ। IFR % मा मापन हुने कारण जम्मा मृत्यु संख्यालाई जम्मा संक्रमण संख्याले भाग गरेपछि १०० ले गुणा गरिन्छ।  

सामुदायमा संक्रमणको स्थिति थाहा नभएको अवस्थामा IFR  को मान निकाल्न सम्भव छैन। 


२. केस फेटालिटी रेसियो (Case fatality ratio, CFR %): CFR ले संक्रमण पत्ता लागेका व्यक्तिहरूमा मृत्युदर कस्तो छ भनेर मापन गर्ने भएकाले यसले पत्ता लागेको संक्रमणको गम्भीरतालाई जनाउँछ। CFR पनि % मा मापन हुने हुँदा हिसाब गर्न जम्मा मृत्यु संख्यालाई पत्ता लागेको जम्मा संक्रमण संख्याले ले भाग गरेपछि १०० ले गुणा गर्नुपर्ने हुन्छ।


CFR ले दुइटा प्रारम्भिक धारणा बनाएको हुन्छ: पहिलो- संक्रमण र मृत्यु महामारीको अवधिभर उस्तै हुन्छ ,र दोस्रो- पत्ता लागेको हरेक संक्रमणको नतिजा प्राप्त भैसकेको छ। तसर्थ CFR महामारीको अन्त्यपछि मृत्यदर पत्ता लगाउन उपयोगी हुन्छ। 




महामारीकैबिच CFR हिसाब गर्न सुत्रमा केहि परिमार्जनगर्नुपर्ने हुन्छ। कुनै संक्रमण छिट्टै नतिजामा पुग्छ भने कुनैलाई बढि समय लाग्छ। यस्तो अवस्थामा CFR को मान निकाल्न जम्मा मृत्युलाई नतिजा प्राप्त भएको संक्रमण संख्या (रोगमुक्त भएको संख्या र  मृत्यु भएको संख्याको योग) ले भाग गरेर १०० ले गुणा गरिन्छ।   

(अंग्रेजीमा लेखिएका सबै सूत्रहरू विश्व स्वास्थ्य संगठनबाट साभार गरिएका हुन्। )

यसरी हिसाब गरिएको मृत्युदरमा पनि केहि समस्या छ। यसले ढिलो गरी पत्ता लागेको संक्रमणलाई सम्बोधन गर्दैन। रोग लागेर विरामी भएका व्यक्तिको नतिजा आउन अलि ढिलो वा अलि छिटो हुँदा यसले दिने आँकडा वास्तविकता भन्दा फरक पर्न सक्छ। 


अब नेपालमा कोभिड-१९ को मृत्युदरका बारेमा केहि चर्चा गरौँ। 


चित्र क: यस चित्रमा जुन ३० (असार १६) भन्दा पछिका ८ हफ्ताका जम्मा संक्रमित संख्या र मृतक संख्या देखाइएको छ। यस चित्रको देब्रेतर्फको स्केलले जम्मा संक्रमित संख्या देखाउँछ भने दाहिनेतर्फको स्केलले मृतकको संख्या देखाउँछ। 

कालो रेखा र कालो स्केलले संक्रमित संख्या जनाउँछ भने रातो रेखा र रातो स्केलले जम्मा मृतक संख्या जनाउँछ। 

चित्रमा देख्न सकिन्छ, महामारीको सुरुको ६ महिनामा भन्दा पछिल्लो दुइ महिनामा संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। जुन ३० गते (असार १६) देखि अगस्ट २८ गते सम्मको आँकडालाई हेर्ने हो भने संक्रमितको संख्या १३५६४ बाट झण्डै ३ गुणाले बढेर ३५४५६ पुगेको छ भने मृतकको संख्या २९ बाट ६ गुणाभन्दा धेरै बढेर १९५ पुगेको छ।



चित्र ख: यस चित्रमा जम्मा संक्रमित संख्या (कालो रेखा), रोगमुक्त संख्या (हरियो रेखा), र मृत्यु संख्या (रातो रेखा) देखाइएको छ। संक्रमित संख्यार रोगमुक्त संख्याका लागि वायाँतर्फ स्केल देखाइएको छ भने मृतक संख्याको लागि दायाँतर्फ स्केल देखाइएको छ। चित्रमा  स्पष्ट देखिन्छ जुलाईको अन्त्यतिर संक्रमित र रोगमुक्त हुनेको संख्याबिचको भिन्नता कम हुँदै थियो भने अगस्तको सुरु (साउन २० गतेको वरिपरि) देखि यी दुई रेखाको बिचमा दूरी बढ्दै गइरहेको छ। सँगसँगै मृत्यु हुनेको संख्या पनि आकासिँदै गएको छ। यो चित्र बाट यति भन्न सकिन्छ कि संक्रमित हुने र रोगमुक्त हुनेको संख्याबिच भिन्नता  बढ्दै गर्दा मृतकको संख्या बढ्ने रहेछ। फेरि संक्रमितको संख्या जसरी बढ्दैछ, सँगसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। 



चित्र ग: यस चित्रमा मृत्यु दर (केस फेटालिटी रेसियो, CFR %) बैजनी र मृतकको संख्या रातोमा देखाइएको छ।  जुन ३० मा (असार १६ मा) 0. २१% भएको मृत्यु दर अगस्ट २८ (भदौ १२)सम्म आइपुग्दा ०.५३% पुगेको छ। चित्रमा देख्न सक्छौँ मृत्यु संख्यासँगै मृत्यु दर पनि बढ्दै गइरहेको छ। 



चित्र घ: माथी उल्लेख गरिए जस्तै महामारीकै बिचमा रहेको अवस्थामा केस फेटालिटी रेसियो, CFR % लाई परिमार्जन गर्नु पर्छ। यस चित्रमा CFR% (बैजनी) र परिमार्जित CFR % (खैरो) देख्न सकिन्छ। जुन महिनाको अन्त्य (असार १६) देखि घटेको परिमार्जित CFR % संक्रमण संख्या अगस्तको पहिलो हफ्ता (साउनको २० आसपास) बाट बढेर अगस्ट २८ (भाद्र १२) मा झण्डै १% पुग्न लागेको छ। यहि अवस्था कायम रह्यो भने हरेक सय संक्रमित व्यक्तिको नतिजा आउँदा एक जनाले ज्यान गुमाउनु पर्नेछ।


एक मृत्यु नै व्यक्ति, परिवार, समाज, र राज्यको लागि ठूलो क्षति हो भने यहाँ हामी एक प्रतिशत मृत्युको कुरा गरिरहेका छौँ, जुन अत्यन्तै भयावह स्थिति हो। अहिलेको स्थितिलाई नियालेर हेर्दा मृत्युदर छिट्टै घट्ने अवस्था देखिँदैन।



References

1.

2. 
3.




Nava Raj Poudyal 
PhD Candidate
Biochemistry and Molecular Biology 
Clemson University, USA

#कोरोना     #कोरोना मृत्युदर     # कोभिड-१९ मृत्युदर

No comments:

Post a Comment

नेपालमा कोभिड-१९ सम्बन्धित मृत्युदर

नभ राज पौड्याल सन् २०२० को सुरुका ८ महिना सकिनै लाग्दा नेपालमा नोवल कोरोनाभाइरसबाट संक्रमितको संख्या ३६ हजार बढि छ भने मृत्यु हुनेको संख्या ...